सञ्चारमाध्यम सूचिकृत गर्न पत्रकार महासंघ ओखलढुंगाको आवहन

fnjokhaldhunga

नेपाल पत्रकार महासंघ ओखलढुंगाले जिल्लाका सञ्चारमाध्यमलाई महासंघमा सूचिकृत गर्न आवहन गरेको छ । जिल्ला स्थित सञ्चारमाध्यमहरुको दिगोपना र क्रियाशिल पत्रकारहरुको क्षमता विकासका लागि संस्थागत पहल गर्ने नीति लिएको महासंघले सञ्चारमाध्यमलाई सूचिकृत गर्न आवहन गरेको हो ।

महासंघको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले ओखलढुंगा जिल्लामा सञ्चालित सञ्चारमाध्यम र कार्यरत पत्रकारहरुको विवरण अद्यावधिक गर्ने र सञ्चारमाध्यम सूचिकृत गर्ने निर्णय गरेको हो । महासंघले एकद्धार प्रणालीबाट जिल्लाका स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालय, दातृ निकाय, उद्योगी व्यवसायिलगायतसँग संस्थागत समन्वय गर्न भएको हो ।

महासंघको संस्थागत विकास, क्रियाशिल पत्रकारका लागि क्षमता विकास, सञ्चारमाध्यमको दिगोपना र नयाँ पत्रकार उत्पादनमा योजनावद्ध काम गर्न जिल्लाका सबै क्षेत्रसँग साझेदारी गरिने नेपाल पत्रकार महासंघ ओखलढुंगाका अध्यक्ष पूर्णप्रसाद न्यौपानेको भनाई छ  ।

सञ्चारमाध्यकहरु बीचको अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित गर्न समन्वयकारी भूमिका बढाउने र सामाजिक उत्तरदायित्वमा सञ्चारगृहलाई थप प्रोत्साहित गर्ने महासंघले नीति लिएको छ ।

सूचिकृत गर्नका लागि आवेदन, प्रशारण-प्रकाशनको अवस्था र प्रभावबारेको जानकारी र दररेटसमेतको सञ्चारमाध्यमको प्रोफाइल, संस्था-कम्पनी दर्ता (अद्यावधिक-नविकरण गरिएको) प्रमाणपत्रको प्रतिलिपि, भ्याट-पान नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, कार्यरत पत्रकारहरुको नामावली र जिम्मेवारी समेत खुलाएको दरबन्दि विवरण माग गरिएको छ ।

महासंघले पुस २३ गते सूचना जारी गर्दै १५ दिन भित्र सञ्चारमाध्यम सूचिकृत गर्न आवहन गरेको छ ।