पत्रकार महासंघ ओखलढुंगालाई डिजिटलाईज गरिँदै

fnjokhaldhunga

पत्रकार महासंघ ओखलढुंगालाई पूर्ण प्रविधिमैत्री (डिजिटलाईज) गरिने भएको छ । प्रविधि मार्फत महासंघको इतिहास संस्थागत गर्ने, गतिविधि पारदर्शी बनाउने र जनहितमा जारी सूचना र समाचारसमेत प्रकाशन गर्नेगरी वेवसाइट निर्माणसहितका काम गरिने भएको हो ।

महासंघले www.fnjokhaldhunga.org नामको वेवसाइट निर्माणको काम थालिसकेको छ । आधारभूत पत्रकारिता तालिम उद्घाटनको अवसर पारेर आगामी माघ ५ गते एक कार्यक्रमका बीच वेवसाइड शुभारम्भ गर्ने तयारी छ ।

पत्रकारितामा प्रविधिको प्रयोग बढ्दो भएकाले युग सुहाउँदो महासंघ बनाउन पत्रकार महासंघ ओखलढुंगालाई प्रविधिमैत्री बनाउन लागिएको महासंघका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए । महासंघको वेवसाइडमा पत्रकार महासंघ ओखलढुंगाको इतिहास, हालसम्म भएका कामको कार्यप्रगति, महासंघमा पत्रकारहरुको योगदान, गतिविधि, लेख, रचना, समाचार, फोटोफिचर, पत्रकारहरुको सदस्यता विवरणलगायतका विषयहरु समेटिने छन् । पत्रकार महासंघको वेवसाइड मार्फत नै नयाँ सदस्यताको फारम भर्न र पुराना सदस्यले नविकरण गर्न सक्नेछन् । जिल्लामा सञ्चालित एफएम रेडियोहरु पत्रकार महासंघको वेवसाइड मार्फत सुन्न मिल्ने र जिल्लाका अनलाइनका समाचारहरु पढ्न मिल्ने बनाइने छ ।

पत्रकार महासंघ ओखलढुंगालाई सञ्चार केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।