तथ्यांकमा ओखलढुंगा
प्राकृतिक रूपमा उत्तर–पूर्व–दक्षिण दुधकोसी र उत्तर–पश्चिम–दक्षिण सुनकोसीले भौगोलिक सीमाना बाँधिएको ओखलढुंगा जिल्ला इतिहासको घेरामा पनि उत्तिकै समृद्ध छ । सामाजिक, सांस्कृतिक, भाषिक आधारमा वर्तमान ओखलढुंगाको शब्दचित्र संक्षिप्तमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसैगरी ओखलढुंगामा जन्मे हुर्केर पेसागत रूपमा पत्रकारिता क्षेत्रमा स्तम्भ निर्माण गरेका र क्रियाशील पुस्ताको छोटो चर्चा गरिनेछ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार देश नेपालको कुल जनसंख्या २ करोड ९१ लख ६४ हजार ५ सय ७८ जना रहेको छ । जसमा महिला १ करोड ४९ लाख ११ हजार २७ जना र पुरुष १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ जना छन् । देशमा १ सय ४२ जातजाति रहेका छन् । ती जनजीवनले १ सय २४ भाषा बोल्दछन् भने १० वटा धर्म मान्ने समुदाय छन् ।
ओखलढुंगाको कुल जनसंख्या १ लाख ३९ हजार ५ सय ५२ जना रहेको छ । त्यसमा महिला ७१ हजार ४ सय ७२ र पुरुष ६८ हजार ८० रहेका छन् । ओखलढुंगामा सिद्धिचरण नगरपालिका, खिजीदेम्बा गाउँपालिका, चम्पादेवी गाउँपालिका, चिशंखुगढी गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका, मोलुङ गाउँपालिका, लिखु गाउँपालिका र सुनकोशी गाउँपालिका रहेका छन् । यी पालिकामा जम्मा ७५ वडा छन् । जसमा ७३ वडा ग्रामीण (९६.२५ प्रतिशत) र २ वडा सहरी (३.७५ प्रतिशत) जनसंख्या रहेको छ ।
ओखलढुंगा जिल्लामा ३४ जातजाति रहेका छन् । जनसंख्याका हिसाबले क्षेत्री २९३६२, बाहुन (पहाडे) १२८२५, मगर १६०४८, तामाङ १४६२८, राई १३८६५, शेर्पा ११८२७ रहेका छन् । त्यसैगरी नेवाः (नेवार) ८७४२, विश्वकर्मा ५९५०, सुनुवार ५१४२, परियार ४७३०, मिजार ४४२२, बाहिङ ३४८५, घर्ती-भुजेल ३०७४, गुरुङ २१९६, माझी १११५ छन् । सन्यासी-दसनामी ५६९, थुलुङ ४०१, पहरी १०६, ठकुरी १०२, थारु ६७, याक्थुङ-लिम्बू ५७, यादव ४५, बादी ४१, तेली ४०, दुरा ३८, सोनार २६, कठबनियाँ १५, कुमाल १५, खवास १५, चाम्लिङ १५, दुसाध-पासवान १३, बाहुन (तराई) १३, सुन्डी १३, हलुवाई १२, अन्य १२४ र विदेशी १४ छन् ।
ओखलढुंगामा र ३० भाषा बोल्ने समुदाय छन् । संख्यात्मक हिसाबले ती भाषा बोल्नेको संख्या यस्तो रहेको छ । नेपाली ७३४३१, तामाङ १४२७०, मगर ढुट १३५४१, शेर्पा ११६६८, वाम्बुले ६८५५, बाहिङ-बायुङ ६६१८, सुनुवार ४०६९, नेपालभाषा (नेवारी) २,९२२, जेरो-जेरुङ २४२७ छन् । राई ९१८, गुरुङ ६३३, थुलुङ ५८१, माझी ३९९, भुजेल ३५४, मैथिली– १७८ छन् । यस्तै संस्कृत ८०, भोजपुरी ७४, चाम्लिङ ७३, भोटे ७२, थारु ५३, मनाङ्गे ४७, दुरा ३७, माल्पाँडे ३१, याक्थुङ÷लिम्बू २९, बान्तावा २६, बज्जिका २५, अवधी २५, नाछिरिङ १६, खालिङ १५, खस १३ र अन्य ७२ छन् ।
तथ्यांकमा मिसिएको मिथ्यांक पहिल्याउनै पर्छ कि किरात राई जातिअन्तर्गत २६ वटा भाषा बोल्ने समुदाय रहेका छन् । त्यसमा ओखलढुंगाको तथ्यांकमा देखिएका बाहिङ, चाम्लिङ, थुलुङ, वाम्बुले, जेरो÷जेरुङ, खालिङ, बान्तावा, नाछिरिङ राई पर्दछन् । छुट्टै ‘राई’ भाषा भन्ने हुँदैन । संस्कृत पाठशाला र विश्वविद्यालयसमेत रहेकाले संस्कृत भाषा बोल्नेको बाहुन समुदायको संख्या यहाँ उल्लेख गरिएभन्दा बढी हुन सक्ला तर मातृभाषाकै रूपमा बोल्छन् भन्न गाह्रो छ । लमजुङको दुराडाँडामा रहेका लोपोन्मुख दुरा भाषा र समुदाय ओखलढुंगामा बसोबास गर्छन् र दुरा मातृभाषी छन् भन्ने यकिन आधार देखिदैन । मनाङमा बोलिने मनाङ्गे, खसानमा बोलिने खस, पश्चिम हिमाली भेगमा बोलिने भोटे भाषा, तराई मुलका भाषा बोल्ने समुदाय छन् भनेर विश्वास गर्न मुस्किल छ ।
ओखलढुंगे पत्रकारको राष्ट्रिय नेतृत्व
नेपालको पत्रकारिता क्षेत्रमा ओखलढुंगाको वर्चस्व रहेको मान्न सकिन्छ । नेपाली पत्रकारिताको सुरुवाती कालमा सिद्धिचरण श्रेष्ठको नाम स्वर्णाक्षरले अंकित रहेको पाइन्छ । यसो त युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ रचना स्वरसम्राट नारायणगोपालको संगीत र स्वरमा कालजयी बनेको छ, ओखलढुंगा । नेपाली साहित्य फाँटमा ज्ञानदिलदासदेखि घटराज भट्टराई हुँदै व्याकुल माइलासम्म आइपुग्दा ओखलढुंगाको योगदानलाई कहीं कतै खोट लाउने ठाउँ छैन । नतमस्तक भएर ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ राष्ट्रगान गाइरहेका छौं ।
संसारभरि रहेका नेपाली पत्रकारहरूको साझा संगठन हो, नेपाल पत्रकार महासंघ । वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ होमनाथ दाहाल महासंघको सभापति (अध्यक्ष) भएर नेतृत्व गरिसक्नु भएको छ । यसो त उहाँ नेपालको जेठो अखबारी संस्था गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष बन्नुभयो । नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष गोपाल बुढाथोकीले प्रेस काउन्सिल नेपालको पूर्व कार्यवाहक अध्यक्षसमेत हुनुभयो । महासंघ पूर्व केन्द्रीय सदस्य बालकुमार नेपाल (?) र जानुका बराल हुनुभयो । महासंघ वर्तमान उपाध्यक्ष बाला अधिकारी, केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली राई हुनुहुन्छ । प्रेस काउन्सिल नेपालको पूर्वअध्यक्ष राजेन्द्र दाहाल, पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पूर्वसदस्य चेतनाथ धमला लगायत रहनु भयो । यसैगरी नेपाल टेलिभिजनका समाचार सम्पादक गजुरधन राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय अध्यक्ष हुनुहुन्छ ।
वरिष्ठ साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहाल राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष हुनुहुन्छ, जो अहिले हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक हुनुहुन्छ । पुष्पहरि क्याम्पा राई नेपाल टेलिभिजनको समाचार प्रमुख हुनुहुन्छ । नारदमुनि गौतम गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादकमा कार्यरत हुनुहुन्छ । सविन धमला र कृष्णा पौडेल दम्पतीले टेलिभिजनको न्यूज एजेन्सी नेपाल (एनएएन) सुचारु राखेका राख्नु भएको छ । वरिष्ठ पत्रकारहरूमा ध्रुवहरि अधिकारी, जीवराम भण्डारी, जीवनाथ धमला लगायत अहिले पनि सक्रिय हुनुहुन्छ ।
ओखलढुंगामा मातृभाषा पत्रकारिता हुन्छ ?
देश नेपाल संविधानतः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको हो । व्यवहारतः खस नेपाली भाषामात्र सरकारी कामकाजको भाषाका रूपमा प्रयोग हुँदैआएको छ । अधिकांश मातृभाषाहरू समुदायमा सीमित छन् । ओखलढुंगाको हकमा नेपालीबाहेक तामाङ, मगर ढुट, शेर्पा, वाम्बुले, बाहिङ-बायुङ, सुनुवार, नेपालभाषा (नेवारी), जेरो-जेरुङ, गुरुङ, थुलुङ, माझी भाषा लेख्य रूपमा अघि बढेको अनुमान गर्न सकिन्छ । तर मातृभाषाको पत्रकारिताको कल्पना गर्न सकिएको अवस्था छैन । पत्रपत्रिका भिजन साप्ताहिक, भिजन एफएम, रेडियो ओखलढुंगा, रेडियो सहयात्री र आफ्नो एफएम छन् । ती माध्यमले स्थानीय मातृभाषाहरूलाई कति र कसरी समेट्न सकेका छन् ? भन्ने प्रश्न आउँछ । तर मातृभाषामा चासो राख्ने युवा पुस्ताको खडेरी छ भन्नेबारे स्थानीय संचारकर्मीको अभिव्यक्ति सुनिदैआएको छ ।
यहाँ प्रश्न उठ्ने गर्छ । तैंलेचाहिं के गरिस् तेरो मातृभाषामा ? यो सवालमा पंक्तिकारले २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ साहित्यिक त्रैमासिक (त्यसैको निरन्तरता २०७५ सालदेखि इक लिब्जु–भुम्जु) पत्रिका हाल २०८० सालसम्म ९६औं अंक प्रकाशित गर्दै आएको छ । यही पत्रिका निरन्तर प्रकाशनले गर्दा वाम्बुले राई भाषा, साहित्य, संस्कृति, किरात सिरिजङ्गा लिपि, इतिहास आदिका तीन दर्जन पुस्तक कृति, तीनवटा गीतिएल्बम, दुईवटा चलचित्र र दुईवटा वृत्तचित्र निर्माण भएका छन् । वाम्बुले भाषा, संस्कृतिबारे अध्ययन, अनुसन्धान, शोधकार्य निरन्तर अघि बढेको छ ।
अहिलेसम्म एकजना विदेशीले वाम्बुले भाषाबारे विद्यावारिधि हासिल गरेका छन् । वाम्बुले भाषा, साहित्य, संस्कृतिमा दर्जनभन्दा बढी स्नातकोत्तर शोधपत्र बुझाइएका छन् ।
हामीले किरात राई जातिभित्रका २६ भाषालाई लेख्य रूपमा अघि बढाउन २०६२ सालमा किरात राई पत्रकार संघ गठन गरेका थियौं । २०६४ सालमा औपचारिक रूपमा दर्ताप्राप्त ग¥यौं । त्यसैगरी तामाङ पत्रकार संघ, नेवाः पत्रकार राष्ट्रिय दबू, तमु सञ्चारकर्मी संघ, मगर पत्रकार संघ, शेर्पा पत्रकार संघ, थारु पत्रकार संघ, लिम्बू पत्रकार संघलगायत जातीय पत्रकार संघहरू बनेका छन् । जसको छाता संगठन हो– फोनिज । यिनै पत्रकार संघहरूले मातृभाषा संरक्षण तथा मातृभाषा पत्रकारिताको अगुवाई गर्नु पर्ने हो । तर दुःखको कुरो जातीय पत्रकार संघहरू सबैजसो राजनीतिक संगठनको ट्याग भिर्नकै निम्तिमात्र संगठनमा प्रवेश गर्ने गरेको अवस्था छ ।
अहिले स्थानीय पालिकामा पत्रपत्रिका प्रकाशन दर्ताप्राप्त गर्न सकिन्छ । एफएम संचालन अनुमति लिन सकिन्छ । तर त्यो काम पालिकाले बजेट छुटाएर प्रवद्र्धन गर्न जरुरी छ । पालिकाले जनसंख्यागत आधारमा मातृभाषाका पत्रपत्रिका, एफएम संचालनका निम्ति वार्षिक बजेट विनियोजन तथा समानुपातिक विज्ञापन प्रदान गर्न जरुरी छ । मातृभाषा बोलेर, लेखेर जागीर पाइन्छ भने हरेक समुदायको युवा आकर्षित हुन सक्छन् । हरेक विद्यालयमा अध्ययनरत मातृभाषी विद्यार्थीलाई सशक्तिकरण गर्न सकिन्छ । कुनै पनि जाति मास्नको लागि उसको भाषा मासे पुग्छ भन्ने राज्यको नीतिले देश नेपालको पहिचान हराउने निश्चित छ । तसर्थ संघ, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्ने राजनेता, स्थायी सरकार (कर्मचारीतन्त्र), सर्वसाधारण नागरिकले बुझ्न, बुझाउन जरुरी छ ।
लेखक राई २०५० सालदेखि २०८० सम्म प्रकाशित लिब्जु–भुम्जु साहित्यिक त्रैमासिकका सम्पादक तथा मातृभाषा अभियन्ता, पत्रकार हुन् ।
प्रतिक्रिया