नेपाल पत्रकार महासंघ, ओखलढुंगाले जिल्लामा सञ्चालित सञ्चारमाध्यमका सञ्चालक र सम्पादकसँग अन्तरक्रिया गरेको छ । सञ्चारमाध्यमको अवस्था, चुनौती र संभावनाका विषयमा महासंघले अन्तरक्रिया गरेको हो ।
महासंघको सभाहलमा अध्यक्ष पूर्णप्रसाद न्यौपानेको अध्यक्षता तथा प्रदेश सदस्य लाक्पा जी शेर्पाको विशेष उपस्थितीमा भएको कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, सञ्चारमाध्यमका सञ्चालक, सम्पादक र जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती थियो ।
जिल्लामा ७ बुँदे निष्कर्षसहित अन्तक्र्रिया सम्पन्न भएको छ ।
अन्तरक्रियाका निष्कर्षहरु निम्नानुसार छन् :
१) जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुलाई एकताबद्ध गराई महासंघको नीति, सिद्धान्त र कार्यक्रममा सहभागिता र महासंघका अभियानहरुमा सामुहिक जोड दिने ।
२) जिल्लाका सरकारी, गैरसरकारी तथा विभिन्न निकायबाट वितरण हुने विज्ञापनलाई सञ्चारमाध्यमहरुको वरियता निर्धारण गरी समावेशी रुपमा वितरण गर्न जोड दिने ।
३) संवेदनशिल विषयमा संप्रेशन हुने समाचार लेखन, प्रकाशन तथा प्रसारणमा एक रुपता दिई सामुहिक धारणसहित अघि बढ्ने ।
४) सूचना तथा समाचारहरुमा साझेदारी गर्ने ।
५) पत्रकारहरुको क्षमता विकास तथा सञ्चारमाध्यमहरुको दीगो व्यवस्थापनका लागि स्थानीय तह लगायत विभिन्न तहगत सरकारी निकायसँगको समन्वयमा कार्यक्रम निर्माण गरी अघि बढ्ने ।
६) जिल्लामा सञ्चारमाध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक कार्यान्वयन र परिचय पत्र अनिवार्य गर्ने लगायत विषयमा सम्बन्धित सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराउने ।
७) पत्रकारिता पेशालाई अझ दीगो, सम्मानित र व्यवस्थित बनाउन सबै पत्रकारहरुले पेशालाई मर्यादित ढंगले अघि बढाउँदै महासंघबाट विभिन्न तालिम, लेखनबृत्ति तथा पुरस्कारको व्यवस्था गरी प्रोत्साहन गर्ने ।
प्रतिक्रिया