नेपाली पत्रकारितामा सर्वाधिक पत्रकार दिने भूमि ओखलढुंगा


नेपाली पत्रकारिताको इतिहास आफै पुरानो छैन । तर करीव वाह्रदशक मात्रै पूरा गरेको नेपाली पत्रकारितामा ओखलढुंगाको भूमिले राष्ट्रलाई सर्वाधिक पत्रकारहरु  प्रदान गरेको छ । शीर्ष साहित्यकारहरु, स्वतन्त्रता आन्दोलनका निष्ठाका अनगिन्ती धरहराहरु ओखलढुंगाबाट राष्ट्रले पाएको छ । नेपालको उत्तरकालीन राजनीतिक इतिहासमा लोकतान्त्रिक आन्दोलनका शहीदहरुको सूचि हेर्ने हो भने यौटै जिल्ला र क्षेत्रबाट शहादत पाउनेहरुको सूचि ओखलढुंगा समान कसैसँग छैन । सायद केही हदमा तनहूँ, खोटाड., धनुषा, भोजपुर र चितवन समान होलान् ।सामाजिक परिवर्तनको मूल थलो समेत ओखलढुंगा हो । सन्त दिलदास समाज परिवर्तनका एक उज्ज्वल नक्षत्रका रुपमा ओखलढुंगाको भूमिले पाएको छ ।

रुम्जाटारको कोदाको पीठो गुन्द्रुकको दाउन ।

धर्म र कर्म गुरुड्ले गरे छक् परे बाहुन ।

त्यसै बनेको सवाई होइन यो । तर उहाँका नाममा ओखलढुंगाले न्याय गर्न सकेको छैन । साहित्य र संगीतका क्षेत्रमा मेलवादेवी, गंगादेवी अनि युगकवि सिद्धिचरण श्रेष्ठ, घटराज भट्टराई, रामेश, रायन, कवितारामहरुले ओखलढुंगालाई फरक परिचय दिएका छन् । अहिले बुद्धिनारायण श्रेष्ठले देशकालागि गरिरहनु भएको योगदान अतुलनीय छ भने गौरवको विषय हो राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला ) को जन्मभूमि पनि ओखलढुगा नै हो ।

पत्रकारिताका सन्दर्भमा पहिलो नाम सिद्धिचरणकै आउँछ । उहाँ राजधानीमा नै वस्ने भएको हुनाले । त्यसपछिको दशकमा होमनाथ दाहाल सर्वाधिक शीर्षस्थानमा रहेको नाम हो पत्रकारितामा । सक्रिय पत्रकारिताका सन्दर्भमा यो पंक्तिकार होमनाथ दाहालपछि लगत्तै आउने नाम हो । साहित्यिक पत्रकारिता आदिमा प्रेमनारायण प्रेमी, डीआर पोख्रेलहरु पनि हुनुहुन्थ्यो । तर पत्रकारितामा सक्रियतापूर्वक लाग्नेमा उहाँहरु पर्नुभएन ।

पत्रकारितासँग जोडिए पनि प्रत्यक्ष नहुनुभएकोमा तुलसी भट्टराई (सेर्नावेंसी ) र डा. कृष्णप्रसाद भट्टराई पनि हुनुहुन्छ । कुनै चरणमा केही समय लोककृष्ण भट्टराईको पनि योगदान रहेको छ ।

(१) विस्तारित भएको पत्रकारिताः

युवा पत्रकार नारद् गौतमले ओखलढुंगाबाट पत्रकारितामा लाग्नु भएकाहरु माथि स्नातकोत्तरको एक शोध पत्र नै पूरा गर्नुभएको छ । त्यसबाट धेरै कुरा थाहा हुन्छ । ०४६ भन्दा पहिलेको असाध्य कठीन समयमा ०३६ पछि ध्रुवहरि अधिकारी र राजेन्द्र दाहाल, गोपाल बुढाथोकी समेत पत्रकारितामा सक्रिय हुनुभयो । लोकतान्त्रिक प्रणालीको पुनर्जागरणकालद्वारा विकसित पत्रकारितामा ओखलढुंगाका धेरै युवाहरुको आकर्षण बढेको छ । फरक जातजातिका, महिला पुरुष, फरक भूगोलका फरकधारमा काम गर्ने पत्रकारहरुको संख्या ह्वात्तै वढेको छ । साहित्यिक पत्रकारितामा यतिखेर तुलसीहरि कोइरालादेखि चेतनाथ धमलाहरुको योगदान देखिन्छ । अनलाइन, टिभी, छापा, रेडियो जस्ता माध्यमहरुमा प्रतिनिधिमूलक नाम लिने हो भनेः विनोद दाहाल वत्स, बालकुमार नेपाल, बाला अधिकारी, पुष्पहरि क्याम्पा राई, गणेश राई, गजुरधन राई, नारायण घिमिरे, केदार वाँस्कोटा, गौतम दाहाल, तोया दाहाल, जानुका बराल, फणीन्द्र नेपाल (लिस्पु) पेशल दाहाल र दीपक दाहाल (प्राप्चा) भानु दाहाल, ज्ञानप्रसाद वाँस्तोला, जीवन शर्मा, राजन रुचाल, शिव विक, अनेक नामहरु छन् । यी त राजधानीमा वसेर वा विदेशमा पुगेर पनि पत्रकारिता गरिरहेका हुन् ।  मैले यहाँ सबैको नाम लिनु संभव भएन ।

अहिले ओखलढुंगाकै जमीनमा वसेर पत्रकारितामा संलग्नहरुको ठूलो पंक्ति बनिसकेकोछ । मैले थाहा पाउँदासम्म एकजना कृष्णबहादुरजी राससलाई समाचार दिने गर्नुहुन्थ्यो । तर त्यो समाचार काठ्माण्डौं पुग्न दशौं दिन लाग्थ्यो र प्रकाशित हुने त कुरै थिएन । पत्रकारितामा संलग्न हामी सबै नै राजधानीमा नै रह्यौं । ओखलढुंगाका पत्रकार भन्ने परिचय जन्मका आधारमा मात्रै बनेको छ । अहिले अवस्थामा व्यापक परिवर्तन भएर अव ओखलढुंगाले पनि आफ्नै जमीनमा जोडिएर काम गर्ने पत्रकारहरु पाएको छ । हामी जस्ता हरेकका लागि यो गौरवको विषय हो । सबै विधाका पत्रकारहरु यतिखेर काम गरिरहेका छन् ओखलढुंगामा ।

(२) मौरी र झिंगा जस्तो चरित्र :

मलाई कहिलेकाही लाग्छ : अव आफ्नो पत्रकारिताका अनुभवहरुलाई  ओखलढुंगा या कतै शहर वाहिर उपयोग गरौं । तर नियमित रुपमा त्यसो गर्न कठीन छ । रेडियो छ ओखलढुंगामा । मैले छापामाध्यममा भन्दा बढी लोकप्रियता पाएको माध्यम रेडियो नै हो । ०४६ को परिवर्तन लगत्तै कोही साथीहरु सांसद, कोही मन्त्री, कोही आयोग, कोही विश्वविद्यालयपदाधिकारी वा कोही राजदूत आदिको लस्करमा उभिनु भयो । त्यो समयमा क वर्गका संस्थानहरु पनि थिए । त्यहाँ पनि अध्यक्ष र महाप्रबन्धकका निम्ति धेरै ठूलो लाम लागेको थियो । ०४६ पहिले निर्दलीयकालमा दःुख, कष्ट भोगेर मिसन पत्रकारिता गर्नेहरुलाई उछिन्नेहरुको लस्कर त दलका नेता, मन्त्रीहरु वा शक्तिकेन्द्रहरुमा पुगिसकेको थियो । म त्यसलाई अस्वाभाविक मान्दिन । किन भने मानिसमा दुई खाले चरित्र हुन्छन् र ती जन्मजात हुन्छन् । एक थरी मौरी चरित्रका हुन्छन् अर्को झिंगा चरित्रका । मौरी जहाँ पायो त्यहाँ वस्ने गर्दैन । फोहोरमा त ऊ कुनै पनि हालतमा झुम्मिदैन । चरित्रकाले परिश्रम गर्छ, ऊ फूलमा वस्छ, मह जम्मा गर्छ, मह जस्तो औषधीय गुण भएको पदार्थको उत्पादन गर्छ र अन्यथा गर्नेहरुप्रति आक्रामक भएर चिल्ने पनि गर्छ ।

ठीक यसका विपरित झिंगा चरित्र हुने गर्छ । झिंगा फोहोरमा जसरी झुम्मिन्छ, गुलियोमा पनि उत्तिकै लिप्त हुन्छ । अरु खाद्य, अखाद्य सामग्रीदेखि शाकाहारी र मांसाहारी सबैमा झिंगाको वास हुन्छ । ती हरेक वासस्थानमा उसले फहोर पार्छ, र रोगका कीटाणुहरुलाई सर्वत्र फैलाउँदै व्यापक गराउँछ । पैसा, पद शक्तिका निम्ति जहाँ पनि वस्नेहरु एकप्रकारले झिंगे चरित्रका अनुयायी हुने गर्छन् ।०४६ पछि त यो चरित्र अत्यन्त झांगिएर अव त यसले अनगिन्ती विशालकाय महल नै खडा गरेको अवस्था छ । व्यक्तिगत रुपमा मेरो यो भनाई कसैप्रति लक्ष्यित छैन । प्रवृत्तिगत अनुभव मात्रै हो । हामी पत्रकारहरुले पनि आफ्नो मूल्यांकन आफै गर्नुपर्छ मौरी चरित्र वरण गर्ने कि झिंगा चरित्र ?

(३) फरक माध्यममा फरक अनुभव :

०४६ को परिवर्तन गत्तै मैले नयाँ सोच र योजनाकासाथ छापा माध्यमको अनुभवलाई विद्युतीय माध्यममा प्रयोग गर्नु उचित संझिएं र रेडियो नेपालमा कार्यक्रम घटना र विचार प्रारम्भ गरें । छापामाध्यमको लगत्तै मेरो यात्रा यसरी विद्युतीय माध्यम तर्फ डोरिन पुग्यो ।

२०२७ साल जेठमा म कक्षा ६ मा भर्ना हुन काठ्माण्डौ आएपछि अनगिन्ती उतारचढाव भोग्दै शिक्षाको खुड्किलो चढ्ने क्रममा २०३५ जेठ यता पहिले नेपाल टाइम्स् राष्ट्रिय दैनिकबाट मेरो पत्रकारिताको यात्रा आरम्भ भएको थियो । मासिक दुई सय रुपैयाँ पारिश्रमिक पाउने गरी आरम्भ भएको त्यो यात्रा त्यसपछि लामो समयसम्म स्वयम्सेवक जस्तै हुनपुग्यो । तर ०४६ सालपछि पत्रकारितामा त्यसरी स्वयम्सेवा गर्नु परेको छैन अपवाद वाहेक । मैले पत्रकारिता प्रारम्भ गर्दाको समय कमजोर प्रविधि, यातायातको अत्यन्त कमजोर अवस्था पाठकहरुको कमी आदि अनेक समस्या थिए । त्यो समय अनेक साप्ताहिक र साना खाले दैनिकहरु प्रतिबन्धबाट मुक्त भएका थिए । ओखलढुंगाबाट राजधानीमा वस्नु भएका होमनाथ दाजु करीव डेढदशक पहिलेदेखि नै पत्रकारितामा हुनुहुन्थ्यो । मेरो पत्रकारिताको पहिलो गुरु नेपाल टाइम्सका प्रधानसम्पादक चन्द्रलाल झा हुनुहुन्छ । उहाँले मलाई समाचार लेखन, सम्पादकीयका विषय छनौट र प्रस्तुतिशैली, भाषासम्पादन, शीर्षक चयन, प्रश्न गर्ने तरीका, पत्रकारको स्वभाव आदि अनेक विषयमा जानकारी दिइरहनु भयो । पत्रकारमा घोडाको जस्तो घ्राण शक्ति हुनु पर्ने, विपक्ष क्रूद्ध हुँदा कसरी त्यसलाई हाँसीहाँसी निस्तेज पार्ने, कसरी निष्पक्ष हुने प्रयास भन्दा सत्यका नजीक पुग्न प्रयास गर्ने, समाचारस्रोतको गोप्यता, समाचारको महत्व, जस्ता विषय मात्रै होइन उहाँले सञ्चारकर्मीले गर्न नहुने कुराहरु पनि सम्झाउने गर्नुभयो । समाचार सत्य भए पनि सम्पादक वा समाचारदाताले अर्को पक्षलाई अस्वकिार गर्नु हुन्न र आफू मात्रै सत्य भएको दावी गरिरहनु गलत हुने शिक्ष्ष दिइरहनुभयो । समाचार लुकाउने, वंग्याँउने, समाचार वेच्ने, समाचारका आधारमा दलाली गर्ने, समाचार स्रोत वेच्ने जस्ता विषयहरु अपराध हुन् भन्ने पनि सिकाउनु भयो । उहाँको भनाइ थियो ः ठूलो रुख ढाल्न सकिदैन भने विस्तारो त्यसका हाँगा छिमल्नुपर्छ, अनि जरामा पुग्ने प्रयास गर्नुपर्छ । जरामा लुक्ने र हाँगा छिमल्ने भएपछि रुख स्वतः ढल्छ भन्ने विचार थियो उहाँको । हामी एकै पटक रुख ढाल्ने पक्षमा म करीव एक वर्ष उहाँसंग काम गरें ।

०३६ को जनमत संग्रहमा हामी बहुदलका पक्षमा खुलेर लाग्यौं । केही सैद्धान्तिक विषय पनि प्रकट भए । हामी विपी कोइरालाको लोकतान्त्रिक समाजवादको भाष्य र राष्ट्रियतावारेको विचारसंग नजीक थियौं । स्वतन्त्रता हाम्रा लागि अपरिहार्य वस्तु हो भन्ने मान्यतामा दृढ हामी । यहीारण लोकतान्त्रिक आन्दोलनको करीव मुख पत्र जस्तै रहेको राष्ट्रपुकार साप्ताहिकमा म पुगें । मैले सैद्धान्तिक पत्रकारिताको मर्म होमनाथ दाजुसंग वसेर सिकेको हुँ । उहाँसंग केही थोरै समय यताउति भएपनि करीव वीस वर्ष जसो संगै रहेर काम गरें । निष्ठा र आदर्शको अनुभव मेरा लागि त्यहाँ पर्याप्त भयो । अर्थात् मेरो सैद्धान्तिक पत्रकारिताको गुरु होमनाथ दाहाल नै हुनुहुन्छ ।

बहुदलपक्षको पराजय भएपनि ०३७ पछिका दिनमा पत्रपत्रिका दर्ता खुकुलो भयो । मैले पहिले साहित्यिक पत्रिका तुमुल मासिक चलाएं र त्यसपछि नेपाल वाणी साप्ताहिक आरम्भ गरें । यो साप्ताहिकदर्ता गर्न ओखलढुंगाकै मित्र लघुधन राईले सहयोग गर्नुभयो । केही रकम धरौटी राख्नु पर्ने मसंग थिएन । लघुधनजीले वैंकमा जम्मा गरिदिनुभयो र रसीद लगेर अखवार दर्ता भयो । अनि अर्को दिन रकम झिकेर उहाँलाई दिएँ । लघुधनजी असाध्य सहयोगी हुनुहुन्थ्यो । उहाँका भाई अवि, कवि पनि हुनुहुन्छ ।

राष्ट्र पुकारमा काम गर्दा अनेक पटक कानूनी झमेलामा होमनाथ दाइ र म परिरह्यौं । पञ्चायतको कालो कानून डेमोक्लेसको तरवार जस्तो थियो । नेपाल वाणी त दुई पटक खारेजीमा पर्यो । नेपाल वाणी खारेजीमा परेको समय चेतनामा पनि सम्पादकीय लेखें मैले तर त्यो पनि खारेजीमा पर्यो । कहिले पञ्चहरुले मानहानीको मुद्दा लगाउने, कहिले अञ्चलाधीशको कानून, कहिले पञ्च र अनियन्त्रित मण्डलेहरुका धम्की निरन्तर थियो त्यस समयमा । यही क्रममा  किशोर नेपाल प्रधान सम्पादक रहनु भएको देशान्तर साप्ताहिकमा म जोडिन पुगें । व्यवसायिक र विकास पत्रकारिताको जानकारी मैले किशोर दाजुबाट नै पाएको हुनाले उहाँ मेरो यस विषयको गुरु हुनुहुन्छ । त्यसपछि भने यात्राले नयाँ मोड लियो ।

(४) रेडियो नेपालमा कार्यक्रम घटना र विचार :

०३१ सालदेखि नै म प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिएं । ०२७ मा राजधनी आएको एघार वाह्र वर्षको उमेरमा पहिलो चरण वामपन्थी संगतमा परे पनि मलाई  स्वर्ग र साम्यवादका गफ उस्तै लाग्न लागे र चटक्क छाडें । लोकतन्त्रको एकमहत्वपूर्ण पाटो स्वतन्त्र प्रेस हो । स्वतन्त्रता स्पन्दन हो लोकतन्त्रको ।अघाएर गफ गर्नेहरुले देखाएका सपनाका कथा सुनेर भोकै वस्नु पर्ने भएपछि कसरी त्यहाँ वस्नु ? यही तानावुनामा मैले विद्यालय कलेज पूरा गरें र ०४१ देखि राजनीतिास्त्रको प्राध्यापनमा लागेपछि घरखर्चको अलिकति जोहो भयो । तैपनि०४६ सम्म अनेक वांगाटिंगा मोडहरु पार गर्दै परिवर्तन भएपछि मलाई नवनियुक्त प्रधानमन्त्री किशुनजी (कृष्णप्रसाद भट्टराई) ले भन्नुभयो ः कुनै सार्वजनिक क वर्गको संस्थामा अध्यक्ष महाप्रबन्धक जेमा गएपनि हुन्छ । म नियुक्ति दिन्छु । तर मेरो उत्तर फरक थियो ः मैले भनें किशुनजी मलाई त्यहाँ गएर पैसा कमाउनु छैन । मलाई त संद्धारमाध्यममा नै केही गर्नु छ । तीस वर्षसम्म नेपालीहरुले एकोहोरो निर्दलीय पञ्चायतका विषयमा सुनिरहेका र शासकको तारिफ सुनिरहेका छन् । म रेडियो मार्फत लोकतन्त्रको अभ्यास र लोकतन्त्रका मूल्यहरुलाई जनतामा पुर्याउन चाहन्छु  । रेडियोमा कार्यक्रम दिन्छु । उहाँले साश्चर्य स्वकिृति दिनु भयो र सञ्चारमन्त्री योगप्रसाद उपाध्यायले रेडियोको व्यवस्थापनलाई मेरो प्रस्ताववारे विमर्श गर्नुभएपछि पहिले यो हप्ता र अर्को दुई हप्ता पछि कार्यक्रम घटना र विचारका नामले मैले ०४७ भदौ १४ देखि ०५१ असार मसान्तसम्म र अर्को पटक ०५२ असोजदेखि ०५३ फागुन मसान्तसम्म कार्यक्रमको प्रमुख सञ्चालक भएर काम गरें ।

(५) शासनचक्रमा समानताः

 पहिले पहिले शासनका अनेक छायाँहरुले मार्ने धम्की दिने गर्थे हामीले त प्रकाशित गरेका तर उनीहरुलाई विझाउने र चित्त नवुझेका समाचारलाई लिएर । अथवा नगदका विटाहरुको प्रस्ताव गर्थे । तर म विचलित कहिल्यै भइँन । पैसाको विटोले खरीद जसरी गर्न सकेन त्यसरी नै मृत्यु धम्कीले आतंकित पार्न सकेन । बहुदलकालमा पनि यो सिलसिला रह्यो । फरक के थियो भनेः हामी लोकतन्त्रका सिद्धान्त र मूल्यका पक्षमा उभियिौं र शासनमा वस्ने र तिनका सहयोगी, सल्लाहकारहरु भने अन्तिम सत्य शक्ति हो भन्नेमा लागे । यो मतभेदको परिणाम हामीलाई रेडियोबाट अवकाश दिइयो पहिलो पटक । जबकि त्यो समय विद्युतीय सञ्चार माध्यम रेडियो र नेपाल टेलिभिजन वाहेक अरु कुनै थिएन । रेडियोको पहूँच टिभीको भन्दा व्यापक थियो । हाम्रो कार्यक्रमको प्रस्तुति , यसको शैली,सहभागिता आदिले यति लोकप्रिय भयो कि शासनमा वस्नेहरुमा एकप्रकारको छट्पटी, आक्रोश, निरीहता व्याप्त भएपछि अन्ततः हामीलाई अवकाश दिन पुगे । त्यसपछि यो मानक रुपमा स्थापित कार्यक्रम राजनीतिक दलको भागवण्डा, फोहोरी खेलको सिकार हुन पुग्यो । तर आजको एफएमको प्रारुप थियो त्यो कार्यक्रम । त्योअलि बौद्धिक थियो त्यति हो ।

मलाई के लाग्यो र लागिरहेछ  भनेः शासकहरु जो अन्तिम सत्य सत्ता हो भन्ने ठान्छन् ती जुनसुकै विचारधाराका भए पनि , जुनसुकै दलका भए पनि जुनसुकै क्षेत्र, जात र धर्मका भए पनि समान हुन र समान हुन्छन् ् ।

 मैले यसपछि कृष्णप्रसाद भट्टराई ०५६ प्रधानमन्त्री हुनु भएपछि मिडिया एड्भाइजर र ०५९ मा देउवाको कार्यकालमा राष्ट्रिय समाचार समितिको अध्यक्ष तथा महाप्रबन्धक भएर दश दश महिनाको अनुभव गरें । त्यो समयका अनेक अनुभवहरु छन् ।०६० मा मैले पहिलो पटक टेलिभिजनमा अग्नि परीक्षा शीर्षकमा हार्ड टक सो चलाएं । पहिलो निजी क्षेत्रको टेलिभिजन च्यानल नेपाल नामको त्यो कार्यक्रमका प्रथम संस्थापक प्रसिद्ध साहित्यकार यादव खरेल हुनुहुन्थ्यो । च्यानल भने जमीम शाह थिए । यो कार्यक्रम पनि असाध्य चर्चित भएको थियो ।

०६१ देखि ०६७ सम्म मैले मानव अधिकार तथा शान्ति समाजको सभापति भएर काम गर्नु पर्यो । राजा ज्ञानेन्द्रको शासन विरुद्ध लोकतान्त्रिक गणतन्त्रको अभियान चलाउने पहिलो संस्था हो मानव अधिकार तथा शान्ति समाज । तर लोकतान्त्रिक गणतन्त्रको औपचारिक प्रस्ताव पारित गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघ हो । बिष्णु निष्ठुरी थिए सभापति महासंघका । शान्ति समाजको सभापतिका रुपमा लोकतान्त्रिक गणतन्त्रको देशव्यापी अभियान मेरै नेतृत्वमा चलेको थियो । म शान्ति समाजको संस्थापक सदस्य हुँदै सदस्य, सल्लाहकार, उपसभापति अनेक भूमिका थिए । तर अहिले त्यो स्थापित सत्यलाई मेटाउने प्रयास भइरहेको अनुभव मैले गरेको छु ।

(६) जहां रहे पनि पत्रकारिता साथमा नैः

मानव अधिकार आन्दोलनमा दौडदा समेत मैले पत्रकारिता छाडिन । हिमाल, नेपाल, समय, अन्तरंग, हिमालय टाइम्स्, कान्तिपुर, गोरखा पत्र, घटना र विचार, देशान्तर, नेपाल समाचार पत्र, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका, नागरिक आदिमा मैले निरन्तर कलम चलाई रहें । खुलेका सबै जसो टेलिभिजन च्यानलहरु र रेडियोहरुमा प्रत्येक दिन जसो मेरा विचार विश्लेषण निरन्तर रहे । विचार विमर्शको श्रृंखला कम भएन ।  ०७२  असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको अर्को दिनबाट मेरालागि सर्वथा नवीन अनुभव अनलाइनमा प्रधान सम्पादकका रुपमा आफ्नो योगदान सुरु गरें ।यसमा केही वर्ष मात्रै मेरो योगदान रह्यो । पछिल्लो चरणमा म हिालय टाइम्स् राष्ट्रिय दैनिक र हिटा अनलाइनको प्रधान सम्पादक भएर काम गरिरहेको छु । ०४१ देखि करीव १६ वर्ष मैले नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य, ०४८ र ०५१ को निर्वाचन प्रचार सदस्य, ०७५ साउनदेखि देखि ०७८ पुससम्म पार्टीको केन्द्रीय नीत अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जिम्मेदारीमा रहँदा पनि पत्रकारितालाई निरन्तरता दिएको छु । पत्रकारितासंगै पुस्तक लेखनको साधनाले मलाई सन्तोष प्रदान गरिरहेको छ । तीनोटा कविता संग्रह, दुईटा उपन्याुस( शान्ता अंग्रेजीमा समेत अनूदित ) एक कथा संग्रह, एक विचार संग्रह, दुई सहलेखनमा प्रकाशित कृतिहरु हुन् । पत्रकारिता र सिर्जनात्मक लेखकीय साधना समगतिमा हिड्नसक्छन् भन्ने मेरो अनुभव छ ।

(७) धर्म र मर्म विना पत्रकारिता हुन्नः

मैले यतिविधि कुरा किन दोहोर्याएं भने पत्रकारितामा आउने भविष्यका साथीहरु र वर्तमानमा रहेकाहरुका लागि पनि हाम्रो अनुभव केही हदसम्म उपयोगी हुनसक्छ । मैले मेरो पुस्तक मेरो पत्रकारितामा विपी कोइरालादेखि मनमोहन अधिकारसम्मका, राजा ज्ञानेन्द्रदेखि मरिचमानसम्मका अनेक प्रसंगहरु, किशुनजी, गणेशमानजी, गिरिजाबाबु, मदन भण्डारीदेखि पुष्पकमल दाहालसम्म, रामचन्द्र पौडेलदेखि शेरबहादुर देउवासम्मका अनेक प्रसंगहरुको चर्चा गरेको छु । विगत र वर्तमानको अध्ययन सामग्री त्यसमा यथेष्ट रहेको छ । मलाई लाग्छः माध्यम फरक भए पनि पत्रकारिताको मर्म र धर्म भने परिवर्तित छैन र हुँदैन र हुनुहुँदैन पनि । पत्रकारिताको मर्म र धर्म परिवर्तन गर्न थालियो भने पत्रकारिता पर्चाकारितामा परिणत हुने छ र यसको अर्थवत्ताको अवशान हुने छ ।

आफ्नो जन्मभूमिमा रहेर अनेक समस्या झेल्दै ओखलढुंगाको क्षेत्रबाट पत्रकारितामा लाग्नुभएका साथीहरुले नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखा मार्फत स्मारिका प्रकाशन गर्न लाग्नु भएकोमा हर्दिक धन्यवाद दिन्छु र शुभकामना प्रकट गर्दछु ।

पत्रकारितामा ओखलढुंगा स्मारिकाबाट