नेपाल पत्रकार महासंघ ओखलढुंगाले शाखाका पूर्व अध्यक्ष दीपेन्द्र रुम्दाली र निवर्तमान अध्यक्ष लाक्पा जी शेर्पालाई सल्लाहकारमा मनोनीत गरेको छ । मंगलबार बसेको शाखाको बैठकले रुम्दाली र शेर्पालाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको हो ।
सल्लाहकारमा मनोनित रुम्दाली यसअघि महासंघको केन्द्रीय सदस्य र शेर्पा वर्तमान कोशी प्रदेश सदस्य हुन् ।
महासंघको विधान २०६० पाँचौं संशोधन २०७५ को दफा १६ (९) बमोजिम सल्लाहकार मनोनीत गरेको अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । विधानमा भएको व्यवस्था अनुसार सल्लाहकार मनोनित गरेको अध्यक्ष न्यौपानेको भनाई छ ।
विधानमा भएको व्यवस्था अनुसार निवर्तमान अध्यक्ष, त्यसअघिका पूर्व अध्यक्ष र समितिको निर्वाचनमा अध्यक्ष पदका निटतम प्रतिद्वन्दी गरी ३ जना समितिका पदेन सल्लाहकार रहने व्यवस्था छ । यद्यपी गत निर्वाचनमा ओखलढुंगा शाखाको कार्यसमिति निर्विरोध निर्वाचित भएकाले निवर्तमान र पूर्व अध्यक्ष २ जनालाई सल्लाहकार मनोनयन गरिएको उपाध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभयो । ओखलढुंगामा यसअघि यो दफा कार्यान्वयनमा आएको थिएन ।
बैठकले शाखाको सूचना अधिकारी सचिव मिनाकुमारी श्रेष्ठलाई तोकेको छ भने नयाँ सदस्यता वितरण, नविकरण र शुद्धिकरणका लागि एक साताको समय तोकेर सूचना प्रकाशन गर्ने, विगतमा स्थापना गरिएका पत्रकार अक्षयकोषलाई सकृय बनाउने र जिल्लाको पत्रकारिता क्षेत्रको विकासका लागि तालिम, कार्यशालालगायतका गतिविधिलाई योजनावद्ध सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया