ओखलढुंगा कला, साहित्य र पत्रकारिताको उर्वर भूमी हो । ओखलढुंगाले सयौं पत्रकार जन्मायो । देशमा पत्रकारिताको विकास र व्यवस्था परिवर्तनका सबै आन्दोलनमा ओखलढुंगे पत्रकारको योगदान जोडिएको छ । मुलधारका मिडियासँग जोडिएका पत्रकारको पहिचानले ओखलढुंगे पत्रकारको जस्तो इतिहास बनिसकेको छ वास्तवमा जिल्लाको पत्रकारिताको विकास भने त्यसरी भइसकेको छैन । यद्यपि पछिल्लो १ दशकमा जिल्लाको पत्रकारिताको विकासले गति लिएको छ ।
पत्रकार महासंघको संस्थागत विकास
नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संस्था हो । पत्रकारको क्षमता विकास, अवसर र सुरक्षासँग सम्बन्धित महासंघ जिल्लामा जति सवल बन्छ उतिनै जिल्लाका पत्रकारहरुको पेशागत सुरक्षा, अवसरको उपलब्धता बढ्ने हो । ओखलढुंगाको सन्दर्भमा अग्रजहरुले पत्रकार महासंघ गठन देखि नियमित कार्यसञ्चालन गरेर महासंघको संस्थागत विकासमा योगदान गर्नुभयो । लामो समय भाडाको कोठाबाट महासंघका गतिविधिहरु सञ्चालन भए । अहिले सम्भवतः देशभरकै अन्य शाखाहरुको तुलनामा ओखलढुंगा शाखाको भवन ठुलो र बलियो बनाइएको छ । महासंघको आफ्नै भवनमा ५ तले भवन निर्माणसम्पन्न हुने चरणमा छ । पत्रकारहरुले ऋण लगानी गरेर जग्गा खरिदगरी थालेको भवन निर्माणको कामलाई सम्पन्न गर्न विभिन्न क्षेत्रका व्यक्ति र निकायको साथ मिलेको छ । भवन परिषरमा सञ्चारग्राम निमार्णगर्ने लक्ष्य छ । सदरमुकाममा कोठा भाडामा लिएर बस्नुपर्ने पत्रकारका लागि आवास निर्माण गर्ने, जिल्लाका सबै पत्रकारहरु महासंघकै भववनमा बसेर महासंघकै स्रोत र साधानबाट समाचार लेखन गर्नसक्ने परिस्थिती निर्माण गर्ने हाम्रो अठोट छ ।
अग्रजले सुरुवात गरेका कामलाई संस्थागत गर्दै वर्तमान कार्यसमितिले थर रचनात्मक कामहरु थालनी गरेको छ । महासंघलाई सञ्चार केन्द्रका रुपमा विकास गर्न स्रोत साधनको व्यवस्था, पत्रकारको पेशागत सुरक्षा र भैपरी आउने संकट तथा उपचारका लागि अक्षयकोष स्थापना, पत्रकारिताको विकासका लागि स्थानीय तहहरुसँगको साझेदारीमा विभिन्न तालिम कार्यक्रम र संस्थागत जिम्मेवारीका अन्य गतिविधि सञ्चालन गरिएको छ । भवन निर्माणलाई अन्तिमरुप दिन स्रोतको खोजी निकै चूनौतिपूर्ण विषय थियो तथापि प्रदेश सरकारसँगको समन्वय बढाएर बजेट व्यवस्था गर्न सफल भएको सो बजेटबाट पर्याप्त काम गरिएकाले यो कार्यकाल निकै रचनात्मक बनाउने प्रयास गरिएको छ । महासंघको संस्थागत विकासका लागि अन्य थुप्रै योजना छन् । क्रमशः बाँकी योजना अघि बढ्ने छन् । सवल र एकतावद्ध महासंघ बनाउन जिल्लाका सबै पत्रकारहरु एकजुट भएर अघि बढेको अवस्था छ । पत्रकारहरुको चट्टानी एकता नै ओखलढुंगामा पत्रकारिता विकासको पहिलो र एकमात्रै सर्त हो ।
दिगोपनाको बहस
पत्रकारिताको दिगोपनासँग सञ्चारमाध्यमको अवस्था जोडिन्छ । दिनानुदिन सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । सञ्चारगृहहरु बलियो हुन सकेनन् दिगो रुपमा चल्न सकेनन् भने पत्रकार महासंघ बलियो हुन सक्दैन । पत्रकार उत्पादन गर्न र पेशामा टिकाइराख्न पहिला सञ्चारगृहहरुको व्यवस्थापकिय पक्ष बलियो हुनुपर्दछ ।
जिल्लामा ५ वटा रेडियो दर्ता भएका छन् त्यसमध्ये ४ वटा रेडियो अहिले नियमित प्रशारणमा छन् । ११ वटा पत्रपत्रिका दर्ता भएका छन् त्यसमध्ये अहिले अन्तिममा दर्ता भएको भिजन नेपाल साप्ताहिक मात्रै नियमित प्रकाशनमा छ । पछिल्लो समय अनलाइन सञ्चारमाध्यमहरु पनि खुलेका छन् । जिल्लामा अनलाइनहरु व्यवस्थित बनिसकेका छैनन् । जिल्लाका सञ्चारमाध्यमहरु सञ्चालकहरुले नै खटेर काम नगरे चल्न सक्ने अवस्थामा छैनन् । स्रोतको उपलब्धता नहुनु जिल्लामा पत्रकारिता विकासको प्रमुख चुनौति हो ।
पत्रकार महासंघको संस्थागत विकास होस् वा जिल्लामा सञ्चालित सञ्चारमाध्यमको दिगोपनाको सवालमा होस् अपेक्षित काम हुन सकेको छैन । अबको हाम्रो प्रयास सञ्चारमाध्यमको दिगोपना, पत्रकारको क्षमता विकास र महासंघको संस्थागत सवलीकरणमा केन्द्रित हुनेछ । यो बहसमा सबैको राय, सुझाव र योगदानको अपेक्षा पनि छ ।
बढ्दो प्रतिस्पर्धा, खस्किँदो बजार
हरेक क्षेत्रमा आन्तरिक प्रतिस्पर्धा हुन्छ पत्रकारितामा नहुने कुरै भएन । पछिल्लो १५ वर्षको अवधिमा जिल्लामा ५ वटा रेडियो स्थापना भएका छन् । पत्रपत्रिका एउटा मात्रै प्रकाशनमा रहेपनि र अनलाइनहरुको संख्या दर्जनको हाराहारीमा पुग्न लागेको अवस्था छ । एकपछि अर्को मिडिया खुल्ने क्रम बढिरहेको छ । तर खोल्न जति सजिलो छ चलाउन उत्तिनै गाह्रो छ । बाहिरबाट हेरेर हल्का टिप्पणी गरेजस्तो मात्रै पनि छैन पत्रकारिता । झन सञ्चारमाध्यमको व्यवस्थापकीय नेतृत्व गरेर सफल भइरहन कम चुनौती छैन । ओखलढुंगाका सञ्चारमाध्यम र पत्रकारको स्रोत भनेकै जिल्लाकै विज्ञापनदाता, सरकारी तथा गैरसरकारी निकायका सूचना र विज्ञापन हो । बजार सानो छ त्यसमा पनि आर्थिक मन्दी छ । अझ पत्रकार र आम सञ्चारलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास भइसकेको छैन । बुझेकैले पनि सहयोग भन्दा असहयोग गर्ने गरेको फरक अनुभव छ ।
संघियतापछि जिल्लाका बजारक्षेत्रहरु पनि विकेन्द्रिकृत भएका छन् । पालिकाका केन्द्रहरुमा स साना बजार छन् ति बजार र सञ्चारमाध्यमको सहकार्य हुने अवस्था छैन । काठमाडौंको बजारले ओखलढुंगाका सञ्चारमाध्यमलाई सूचना दिँदैनन् । स्रोतको सिमितताका कारण जिल्लामा पत्रकारिताको विकास र सञ्चारमाध्यमको दिगोपनामा समस्या छ । यस विषयमा बहस हुनुपर्छ ।
केन्द्रमा बस्नेले नदेखेको जिल्ला, नलेखेको समाचार
ओखलढुंगे पत्रकारहरुले विगत देखि वर्तमानसम्म राष्ट्रियस्तरका सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गरिरहेका छन् । सबैजसो मुलधारका मिडियामा ओखलढुंगाका पत्रकारहरु क्रियाशिल छन् । पत्रकार महासंघ र पत्रकारका संघ संगठनमा पनि ओखलढुंगे पत्रकारको उपस्थिती अर्थपूर्ण छ ।
राजधानी काठमाडौंलाई कर्मथलो बनाएका ओखलढुंगे पत्रकारहरुको पहिचान बलियो भएपनि केन्द्रमा बसेर पत्रकारिता गर्नेहरुले जिल्लाको पत्रकारिताको विकासमा यथेष्ट योगदान गर्न सकेका छैनन् भने गृह जिल्लाको सवालमा कलम चलाउन सकेका छैनन् ।
पत्रकारिताको अवस्था, चुनौती र सम्भावना
सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । पत्रकारिता घटनाहरूको अनुसन्धान विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण पनि हो । पत्रकारिताको मूल्य–मान्यता भनेकै सत्यतथ्य सूचना सम्प्रेषण गर्नु हो । तथापि पछिल्लो चरण पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको छ भने मूलधारका सञ्चारमाध्यम नै सङ्कटमा परिरहेका छन् । नयाँनयाँ प्रविधि र सामाजिक सञ्जालका कारण पनि मूलधारको पत्रकारितामाथि प्रश्न उठिरहेका छन् । त्यसको प्रभाव ओखलढुंगामा पनि परेको छ । पत्रकारिताको पछिल्लो चासो र चिन्ताको विषय पनि यही हो । पत्रकारिताप्रतिको विश्वासलाई जीवन्त राख्न पत्रकार, सञ्चार गृह स्वयं पनि कतिपय विषयमा सच्चिन तयार हुनुपर्नेछ । पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सूक्ष्म बहस र विश्लेषणसहित अघि बढ्नु पर्ने आवश्यकता छ ।
पत्रकारिताको अवस्था
पत्रकारिताको विकास र दायरा बढेसँगै समस्या र चुनौती पनि बढेका छन् । सूचना प्रविधिको विकास र सोसल साइटले फड्को मार्दा परम्परागत पत्रकारिता भने कमजोर बन्दै गएको स्थिति छ । प्रविधिको विकास र यसको अनेकन प्रयोगले पत्रकारिताको स्वरूप पनि परिवर्तन हुँदैछ । सञ्चारमाध्यमभन्दा डिजिटल मिडिया अर्थात न्यू मिडियाका विभिन्न माध्यम सशक्त र प्रभावकारी देखिँदै छन् । अनलाइन, पत्रिका, टेलिभिजन र रेडियोको सूचनाको स्रोत सामाजिक सञ्जाल बनिरहेका छन् । अधिकांश पत्रकारहरू त्यसमै निर्भर हुनुपर्ने अवस्था सिर्जना हुँदैछ ।
आर्थिक मन्दीले सञ्चारमाध्यमहरू धराशायी भएका छन् । मिडिया क्षेत्रलाई उद्योगको मान्यता दिने भनिएपनि व्यवहारतः त्यो देखिँदैन । स्थानीय तहमा भएका भ्रष्टाचार र सुशासनका विषय घनिभूत ढङ्गले उठ्न सकेका छैनन् । खास गरेर स्थानीय तहमा डकुमेन्ट्री, प्रोफाइल, तालिम, संस्थागत सहयोगको नाममा प्रशस्तै मात्रामा मिडियामा लगानी भएको छ । तथापि त्यसको सदुपयोग र प्रभावकारितामा भने प्रश्न गर्न थालिएको छ । पत्रकारहरूको पेशागत सुरक्षा हुन नसक्नुले पनि धेरैखाले समस्या निम्त्याइरहेको छ । व्यवसाय र रोजगारीको सुनिश्चितताका लागि कहीँ कतैबाट पहल पनि भएको छैन । व्यवस्था परिवर्तन भयो, तर पत्रकारिताको अवस्था परिवर्तन भइरहेको छैन ।
चुनौती
पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षा नै अहिलेको मुख्य चुनौती हो । पत्रकारहरूको सुरक्षा, हक अधिकार, प्रवद्र्धन तथा संरक्षण गर्नु राज्यको पहिलो कर्तव्य पनि हो, तर राज्य त्यो कर्तव्यबाट विमुख छ । पत्रकार र पत्रकारिताका चुनौती बढदै गएका छन् । विशेषतः परम्परागत पत्रकारिताको अस्तित्वमाथि चुनौती थपिएका छन् । धेरैजसो चुनौती स्वयं पत्रकारद्वारा नै सिर्जित छन् भने कतिपय राजनीतिकलगायतका कारणले पनि सिर्जित छन् । अहिले पत्रकारले समाचार लेखेबापत, पत्रकारिता गरेबापतभन्दा पनि सामाजिक सञ्जालमा राख्ने स्टाटस, उसको स्रोतसँगको सम्बन्ध (नाजायज), आचरण र व्यवहारलगायतका कारणले जोखिम र असुरक्षा बढाइरहेको छ । श्रम गरेवापतको पारिश्रमिक सञ्चारमाध्यमबाट नपाइरहेको खबरहरु स्वयं पत्रकारले लेखिरहेका छन् । तर ओखलढुंगाको हकमा श्रमशोषण सम्मको समस्या छैन ।
पत्रकारमाथि अनेकन चुनौती र जोखिम कायमै छन् । पत्रकार, मिडियालगायत कसैप्रति पनि असहमति जनाउने, आपत्ति प्रकट गर्ने, गुनासो पोख्ने अधिकार सबैलाई सुरक्षित छ । तर त्यसको लागि केही विधि र प्रक्रिया पूरा गर्न जरूरी छ । सार्वजनिक समाचार÷विचारप्रति चित्त नबुझे खण्डन गर्ने (स्पष्टोक्ति), पे्रस काउन्सिल, न्यायालयलगायतमा मुद्दा हाल्ने, पत्रकार सम्मेलन, अन्तरक्रिया, बहस, छलफलमार्फत निकास खोज्ने, पत्रकार महासङ्घलगायतका सङ्घ सङ्गठनसँग पनि आवश्यक सरसल्लाह र सहयोग लिने आदि धेरै विकल्प÷माध्यमको खोजी गर्न सकिन्छ । तर यहाँ त्यसो भएको पाइँदैन । त्यसो नहुनु पनि एकखाले खतरा र चुनौती हो । सत्यतथ्य सूचना प्रवाहमा बेवास्ता, पर्याप्त सीप-दक्षता र खुबी नहुनु, पर्चाकारिता र पार्टीकारिताले स्थान पाउनु, सीप अभिवृद्धिका लागि सञ्चारगृहले ध्यान नदिनु, स्वतन्त्र ढङ्गले काम गर्ने वातावरण नहुनु, बढ्दो दण्डहीनता, भौतिक तथा व्यावसायिक असुरक्षा सञ्चारकर्मीका मुख्य समस्या-चुनौतीका रूपमा देखिएका छन् । व्यक्ति, समूह वा संस्था विशेषका उपयोगी साधन या भरिया (पत्रकार) त भइरहेका छैनौँ ? यो पनि सोच्ने बेला भएको छ । व्यवसायिक र मर्यादित पत्रकारिताबारे बहस र छलफल गरेर नथाक्ने नेपाली सञ्चार क्षेत्रमा आचारसंहिता उल्लङ्घन अर्को पेचिलो विषय हो । पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउने मुख्य दायित्व हामी पत्रकारहरूकै हो ।
सम्भावना
जहाँ समस्या र चुनौती छ, त्यहीँ सम्भावना पनि रहन्छ । पत्रकारितामा निराशा छाएको छ तर आशा मरिसकेको छैन । सूचना लिने र दिने सञ्चारमाध्यम फरक भएका हुन् । सञ्चारमाध्यमका स्वरूप परिवर्तन भएका हुन् । सञ्चारको शैली, प्रस्तुति फेरिएको हो । त्यसका लागि पत्रकारहरूले पनि आफूलाई सच्याउन र अपडेट गर्न जरूरी छ । पछिल्लो चरण नयाँ प्रविधिको उच्चतम प्रयोग गर्न पाउनु पनि एक अवसर र सम्भावना हो । प्रविधिको सिकाइलाई पेशामा रूपान्तरण गर्न सकिने अवसरहरू पनि उत्तिकै छन् तथापि, त्यसका लागि इच्छाशक्ति हुन जरूरी छ, चुनौती सामना गर्न तयार हुनुपर्छ । पत्रकारितामा पढेलेखेका पत्रकारहरूको प्रवेश हुनु पनि सुखद पक्ष हो ।
पत्रकारितामा आउने नयाँ पुस्ता अब प्राविधिक रूपमा पनि सक्षम देखिँदै छन् । सञ्चार गृहमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक पक्ष बुझेको सम्पादकको प्रवेश हुँदै छ । परम्परागत पत्रकारितालाई अहिले नयाँ प्रविधिसँग जोड्न पनि सहज छ । अब डिजिटल मार्केटिङ गर्न पनि सहज हुँदै छ । सञ्चारमाध्यमले घटना, विषय र प्रस्तुतिलाई नयाँ स्वरूपमा पस्किन पनि सहज छ, तर जनरूची, सार्वजनिक सरोकार र विश्वास लाग्दा विषय हुनुपर्छ ।
पछिल्लो चरण नेपाल पत्रकार महासङ्घले थालेको पत्रकार शुद्धीकरणको अभियानले पनि स्वच्छ, गुणस्तरीय र विश्वसनीय पत्रकारिता गर्न मद्दत पु¥याउने छ । पछिल्लो समय सञ्चारकर्मी र सञ्चारमाध्यमको विकासका लागि तीनै तहका सरकार कानुन, नीति निर्माणमा पनि सक्रिय हुँदै छन् । यसलाई व्यवस्थित गर्न सकिए पत्रकारिताले नयाँ उचाइ लिने छ । सूचनालाई पहुँचसँग, पहुँचलाई विकाससँग, विकासलाई जनताको समृद्धिसँग गाँस्ने मूल आधार बनाउने गरी पत्रकारितालाई नयाँ ढङ्गले अघि बढाउनुपर्छ । लोकतन्त्र, समाज रूपान्तरणका पक्षमा पत्रकारहरूले विगतमा जुन आवाज उठाए, त्यो विरासतलाई कायम राख्नुपर्ने दायित्व छ ।
पत्रकारहरूको पेशागत सुरक्षाको सुनिश्चिततासँगै व्यावसायिक दक्षता अभिवृद्धि, सञ्चारगृहको संस्थागत विकास एवं सञ्चारमैत्री वातावरण बनाइनुपर्ने आवश्यकता छ । स्थानीय सञ्चारमाध्यम नै आमजनताको पहिलो र प्रभावकारी माध्यम भएकाले स्थानीय सरकारले तिनको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि आवश्यक पहलकदमी लिनुपर्छ । पत्रकारितामा समस्या र चुनौती छन् भनेर चुप लागेर कहीँ पनि पुगिँदैन, सम्भावनाको खोजीमा लाग्नुको विकल्प छैन ।
पूर्णप्रसाद न्याैपाने
अध्यक्ष