सञ्चारमाध्यम सञ्चालक र सम्पादकसँग अन्तरक्रिया गर्दै पत्रकार महासंघ ओखलढुंगा

fnjokhaldhunga

नेपाल पत्रकार महासंघ ओखलढुंगाले जिल्लामा सञ्चालित सञ्चारमाध्यमका सञ्चालक र सम्पादकसँग अन्तरक्रिया गर्ने भएको छ । जिल्लामा सञ्चालित सञ्चारमाध्यमका समस्या पहिचान गर्दै दिगोपनाका लागि साझा अभियान अभियान चलाउने र जिल्लाको पत्रकारिताको विकासका लागि सञ्चारमाध्यम र महासंघलाई एकतावद्ध बनाउने उद्देश्यले अन्तरक्रिया गरिने भएको हो ।

माघ ९ गते महासंघको कार्यालयमा जिल्ला स्थित सबै सञ्चारमाध्यमका सञ्चालक र सम्पादकसँग ओखलढुंगाको पत्रकारिताको विकासक्रम, अवसर र चूनौतीका विषयमा छलफल गरेर साझा नीति तर्जुमा गरिने महासंघका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए ।

जिल्लाका सञ्चारमाध्यमको सूचिकृत र क्रियाशिल पत्रकारहरुको विवरण अद्यावधिक गरिरहेको महासंघले विभिन्न चरणमा अन्तरक्रिया गरेर आएका सुझावका आगामी योजना तय गर्ने लक्ष्य राखेको छ ।

ओखलढुंगामा रेडियो, पत्रिका र अनलाइन गरी करिब १ दर्जन सञ्चारमाध्यम सञ्चालनमा छन् ।